चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ – Mero Samachar

चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ

चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ class=

चितवन मेडिकल कलेजको आइसियूभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको छ।

कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले ११ जनामध्ये ३ जनालाई पक्राउ गरिसकेको बताए। अन्यको खोजी भइरहेको उनले बताए।

पाचन प्रणालीमा इन्फेक्सन भएर रगतमा फैलिएपछि धेरै अंगले काम गर्न छाडिसकेको अवस्थामा चितवन मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएका भरतपुर महानगरपालिका–१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।

दिउँसो सवा १२ बजे गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका कुँवरलाई तुरून्तै आइसियूमा राखेर उपचार सुरू गरिएको थियो। उपचारका क्रममा उनको साँझ सवा ५ बजेतिर मृत्यु भएको थियो।

मंगलबार अस्पताल पुगेका मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आइसियूभित्रै पसेर अन्धाधुन्ध तोडफोड गरेका थिए।

कलेजले आइसियू कक्षमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग गर्दै आएको थियो।

एसपी अधिकारीले सिसिटिभी फुटेजको अध्ययन र अनुसन्धान गरेपछि जाहेरी दर्ता गरेर तोडफोडमा संलग्नको खोजी भइरहेको उनले बताए।

चाडपर्वका कारण अदालत बिदा भएका कारण प्रक्रियामा ढिलाइ भएको उनले बताए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनको दफा ३ को ‘ख’ मा तोडफोड वा हानी/नोक्सानी गरेमा तीन वर्षसम्म कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

साथै, तोडफोड वा हानी-नोक्सानीको मूल्यांकनको आधारमा मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट हानी-नोक्सानी वापतको मनासिव माथिको क्षतिपूर्ति भराइदिनुपर्ने छ भनी ऐनमा उल्लेख छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।