चितवनका केराले बजार पाएन


भरतपुर। भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् ।

सुवेदीले ५५ बिघामा केराखेती गरेका छन् । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गरेका छन् । ‘यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन’, उनले भने ।

केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताए । ‘यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०-१५ गाडी केरा काठमाडौं भित्र्याइने गरेको छ’, उनले भने ।

सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक-दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरे ।

‘छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौं’, उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन”, अध्यक्ष पन्तले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *