काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानूनसम्मत भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्मामा गभर्नरमाथि निलम्बन कानूनसम्मत भएको भन्दै छानविन गर्न कानूनबमोजिम कमिटी बनाएको बताए।
मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए। ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ,’ उनले भने । समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्मामा निलम्बित गभर्नर अधिकारीप्रति विभिन्न असन्तुष्टि व्यक्त गरेका थिए। उनले अनुत्पादक क्षेत्रको कर्जा प्रवाह राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेको आरोप लगाए। यसले आयात वृद्धि भएको तर उत्पादन नबढेको उनको भनाइ छ।
कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर राष्ट्र बैंकले काम गर्ने बताए । अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।
‘यति ठूलो कर्जा प्रवाह भएपछि केही न केही देशका लागि योगदान गर्नुपथ्र्यो। तर, ऋण र उत्पादन क्षेत्रको तालमेल मिलेको देखिएन,’ उनले भने।
आफूले अनावश्यक हस्तक्षेप गरेको नभई नेतृत्वदायी भूमिका निभाएको उनको दाबी छ। मन्त्री शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोपसमेत लगाए ।
यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो।
उनले अर्थतन्त्रका सूचना कमजोर भए पनि धरासायी नै नबनेको प्रस्ट पारे। ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।
अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।