कर्जा खबर।
गत आर्थिक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाले झण्डै ५६ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेका छन्। केन्द्रिय बैंकको तथ्यांक अनुसार गत वर्ष बैंक तथा विकास बैंक र फाइनान्स कम्पनीहरुले गरी कुल ५५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन्।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँमा मार्जिन कर्जा लगानी गरेका छन्। अघिल्लो वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले ५० अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
गत असार महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जा १२ प्रतिशतभन्दा धेरैले बढेकाे छ। तथ्यांक अनुसार जेठ अन्तिमसम्ममा ९४ अर्ब ५५ करोड रुपैयाँ मार्जिन कर्जा लगानी भएकोमा असारसम्ममा १ खर्ब ६ अर्ब माथि पुगेको हो।
मसान्तको चापले गर्दा गत असारमा शेयर बजार घटेको थियो। असार महिनामा बजार घटेपनि लगानीकर्ताले भने झनै कर्जा लिएर बजारमा लगानी बढाएको देखिएको छ। जसले गर्दा असारपछि पनि शेयर बारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ। गत असार महिनामा शेयर बजार १४२.४५ अंकले घटेको थियो। बजार करेक्सनको समयमा लगानीकर्ताले झनै मर्जिन कर्जा लिएर बजारमा लगानी बढएको विश्लेषकहरु बताउछन्।
कुल मार्जिन कर्जामा ९० अर्बभन्दा धेरै कर्जा वाणिज्य बैंकहरुले लगानी गरेका छन्। वाणिज्य बैंकहरुले आधारदरकै हाराहारीमा मार्जिन कर्जा दिन थालेपछि बैंकहरुबाट मार्जिन कर्जा लिने बढेका हुन्। असारसम्ममा २५ वाणिज्य बैंकले ९० अर्ब ९२ करोड रुपैयाँ मार्जिन कर्जा दिएका छन्।
गत असारसम्ममा ग्लोबल आईएमई बैंकको शेयर धितोमा प्रवाह गरिने मार्जिन कर्जा सबैभन्दा धेरै रहेको देखिएको छ। बैंकले समीक्ष अवधिमा ७ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ६ अर्ब ७२ करोड रुपैयाँ मार्जिन कर्जा दिएको छ भने नविल बैंकले ६ अर्ब रुपैयाँ मार्जिन कर्जा दिएको छ।
कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको भने मार्जिन कर्जा १ अर्बभन्दा तल रहेको छ। माछापुच्छ्रे बैंकले गत असारसम्ममा ६५ करोड रुपैयाँ मार्जिन कर्जा दिएको छ भने कृषि विकास बैंकले सबैभन्दा थोरै २५ करोड रुपैयाँ मार्जिन कर्जा दिएको छ।
यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसविआई बैंकले भने मार्जिन कर्जा दिएका छैनन्।
बुलिश बजारमा बैंकहरुको मार्जिन कर्जा उच्च रुपले बढेको छ। घट्दो बजारमा अनेकौ स्किम ल्याउँदा पनि मार्जिन कर्जा बढाउन नसक्ने बैंकहरुले गत एक वर्षमा शत प्रतिशतभन्दा धेरै मार्जिन कर्जा लगानी गरेका छन्।
मार्जिन कर्जा उच्च दरले बढेकै कारण केन्द्रिय बैंकले समेत मार्जिन कर्जामा केहि कडाई गर्दै एक व्यक्तिले १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउने गरी सीमा ताेकेको छ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।