गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट हटाइँदै – Mero Samachar

गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट हटाइँदै

गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट हटाइँदै class=

गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका छन् ।

‘एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । गठबन्धन दलका नेताले मुख्यमन्त्रीलाई सूचना दिएपछि मुख्यमन्त्रीज्यूले बर्खास्त गर्न लाग्नुभएको सत्य हो,’ उनले भने । यता मन्त्री आचार्यले आफूलाई बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताए । उनले आफूले कसैको पक्षमा भोट माग्ने काम नगरेकाले यो मिथ्या आरोप भएको सुनाए ।

‘म २१ गतेबाट स्वतन्त्र छु । कसैको पक्षमा १ भोट मागेको छैन,’ उनले भने, ‘म अहिले स्वतन्त्र हो । मलाई कुनै पक्षपात छैन । कसैको चाकडी गरेर पदमा बस्ने रहर पनि छैन,’ आचार्यले भने । आचार्य ०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभामा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी भइरहेको एक मन्त्रीले बताए । यसअघि आचार्यले नेपाल समाजवादी पार्टीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।