काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् । बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो । दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज सानो बच्चा सहितको चितुवा देखिन थालेको छ ।’ बच्चा सहितको यो चितुवाले कुकुरको शिकार गरेको समेत देखिएको पनि श्रेष्ठले सुनाए । उनले भने, ‘यो चितुवा यतातिर कुकुर मारिरहेको पनि देखिन्छ ।’ विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले सुनाए ।
जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार बताउँछन् । काठमाडौं आसपासका जंगलहरु चितुवाको बासस्थान भएको बताउँछन वन्यजन्तु विषयका जानकार युवराज भट्टराई । भन्छन्, ‘काठमाडौं आसपासका जंगल चितुवाको बासस्थान हो । बुढो, घाइते र बच्चा पाएका चितुवाहरु सजिलै मार्न सकिने शिकारको खोजीमा शहर छिर्छन ।’
यस्तै जंगलमा चिसो बढेकाले न्यानो खोज्दै चितुवा पारिलो ठाउँ खोज्ने क्रममा पनि झुक्किएर शहर छिर्ने गरेको वन्यजन्तु विज्ञहरु बताउँछन् । वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले भाले चितुवाबाट जोगाउनका लागि माउ चितुवा बच्चासहित शहर नजिकका जंगल छिर्ने गरेको बताइन ।