काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा स्मार्ट ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा ढिलाइ भएको छ । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो ।
सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो ।
त्यसअनुसार विद्युत् प्राधिकरणले बोलपत्र आह्वान गरेर ठेकदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । तर, काठमाडौं महानगरपालिकाले विभिन्न शर्तहरु अघि सारेपछि ठेक्का दिने प्रक्रिया अलमलमा परेको छ । पछिल्ला दिनमा सडक बत्तीको पुरानो महसुलबारे प्राधिकरण र काठमाडौं महानगरपालिकाबीचको विवादले पनि समस्या भएको छ । महानगरपालिको करिब २ अर्ब सडक बत्तीको महसुल तिर्न बाँकी छ ।
विद्युत् प्राधिकरणको ऊर्जा दक्षता विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार काठमाडौं महानगरपालिकाको मागअनुसार केही दिनमै पुरक सम्झौता हुनेछ । त्यसपछि सडक बत्ती जडानको काम प्रक्रिया अघि बढ्ने उनले बताए ।
पुरानो सहमतिपत्रअनुसार काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।