१४ पुस, काठमाडौं । शेयर बजारको फ्रन्टलाइनर रेगुलेटरको रुपमा रहेको नपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अलमलमा परेको छ । दैनिक बजार सञ्चालन गर्ने नेप्से प्रमुख कार्यकारी अधिकृतविहीन बनेको ५ महिना बढी भइसक्दा पनि चाँडो नियुक्त गर्न सरकारले चासो देखाएको छैन ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले ८ भदौमा पदबाट राजीनामा दिएका थिए । तत्कालै सरकारले राजीनामा स्वीकृत गरेपनि नयाँ सीईओ नियुक्त गर्न सकेका छैन ।
समग्र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा भने संयोजक छनोट प्रक्रियामा नै बिवाद हुँदा सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन । नेप्सेको सीईओ नियुक्त गर्न पनि सरकारले छनोट समिति गठन गरेर काम अघि बढाइसकेको छ । ११ कात्तिकमा सार्वजनिक सूचना निकालेर अर्थमन्त्रालयले खुला प्रतिष्पर्धाबाट सीईओ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो ।
मन्त्रालयका सहसचिव रमेशकुमार केसीको संयोजकत्वमा छनोट समिति बनाएर मन्त्रालय काम अघि बढाएको थियो । समितिको सदस्यमा प्रा। डा। जीवननाथ धिताल र अर्थमन्त्रायका प्रवक्ता रितेश शाक्य छन् ।
नेप्सेको सीईओ बन्नका लागि निरन्जन फुँयाल, प्रबिन पन्दाक, डा। रमेशकुमार भण्डारी, जीवन अमगाईं, बद्रीप्रसाद प्याकुरेल, केशवप्रसाद श्रेष्ठ, रमेश घिमिरे, दिपक गौतम, गोविन्दप्रसाद दाहाल र छविराज पन्तसहित ११ जनाले आवेदन दिएका छन् । आवेदन दिएका फुँयाल नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत हुन् भने पन्दाक नेप्सेकी कामु प्रबन्धक र प्याकुरेल हाल आरबीबी मर्चेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।