हवाइजहाजभित्र जस्तो हुन्छ, त्यस्तै संरचना छ। सिटमा युवतीहरू बसेका छन्। एयर-होस्टेसजस्तै पोशाकमा देखिएकी एक युवती माइक समातेर सिटबेल्ट बाँध्ने तरिका सिकाउँछिन्। उनीजस्तै अरूहरू यात्रुले गर्न हुने र नहुने विषयमा जानकारी गराउँछन्।
त्यसअघि उनीहरू यात्रु बनेका युवतीलाई स्वागत गर्नेदेखि सिट देखाउने, जहाजभित्र जथाभावी हिँडडुल गर्न नदिने, उडान र अवतरण लगायतका विषय जानकारी गराउँछन्।
यो सबै प्रक्रिया सकिएपछि पालो फेरिन्छ। युवतीहरू पालैपालो यात्रु र एयर-होस्टेस बन्दै अभ्यास गर्ने क्रम चलिरहन्छ। सबै सहभागीलाई यो अभ्यास अनिवार्य हो।
उनीहरूलाई यो अभ्यास गराउँछ पोखराको ‘एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमी’ ले। एयर-होस्टेसको तयारी कक्षा चलाउने यो एकेडेमीले काम र जिम्मेवारीका सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिन्छ।
यो एकेडेमी सन् २०१२ मा लमजुङ करापुटारकी शोभा केसीले स्थापना गरेकी हुन्। एयर-होस्टेसबारे कुनै जानकारी नभएकी शोभा यसअघि पर्यटन क्षेत्रमा संलग्न थिइन्। गाउँमै आफ्ना आमाबुवाको ‘शोभा गेस्ट हाउस’ मा सहयोग गर्थिन्।