उखु किसानको पैसा नतिर्ने ५ चिनी मिलको जग्गा र बैंक खाता रोक्न पत्राचार – Mero Samachar

उखु किसानको पैसा नतिर्ने ५ चिनी मिलको जग्गा र बैंक खाता रोक्न पत्राचार

उखु किसानको पैसा नतिर्ने ५ चिनी मिलको जग्गा र बैंक खाता रोक्न पत्राचार class=

२० पुस, काठमाडौं । किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमी व्यवस्था, गृह र अर्थ मन्त्रालयमा लेखी पठाएको वाणिज्य सचिव भट्टराईले बताए ।

 

‘५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेछ, उनीहरुलाई भुक्तानीमा प्रतिबद्ध गराउन हामीले काम गरिरहेका छौं,’ सचिव भट्टराईले भने । उखुको मूल्य निर्धारण गर्ने समय भएको बताउँदै उनले उखुमा देखिएको समस्याले उत्पादन घट्दै गएको बताए । किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको सचिव भट्टराईले बताए ।

 

छलफलमा राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए ।

 

पछिल्लो प्रतिस्थापन विधेयकमा पनि यसलाई समेट्नेबारे छलफल भए पनि तत्काल गर्नुपर्ने तयारी नपुगेको उनको भनाइ थियो ।

 

कृषि सचिव गोविन्द शर्माले उखुको मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।