आगामी तीन दिनसम्म मौसम सुधार नहुने – Mero Samachar

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

आगामी तीन दिनसम्म मौसम सुधार नहुने class=

७ माघ, काठमाडौं । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।

 

मौसमविद शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ,’ उनले भनिन् ।

 

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन् ।

 

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ– ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।