अनलाइनमार्फत सेवा प्रवाह हुन थालेपछि दुःख दिँदै बिचौलिया – Mero Samachar

अनलाइनमार्फत सेवा प्रवाह हुन थालेपछि दुःख दिँदै बिचौलिया

अनलाइनमार्फत सेवा प्रवाह हुन थालेपछि दुःख दिँदै बिचौलिया class=

वैदेशिक रोजगार विभाग र कार्यालयले अनलाइन प्रणाली मार्फत सेवा प्रवाह गर्दै आएका छन् । यी निकायहरूबाट सेवा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरू विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था छ । त्यतिगर्दा पनि सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने, कर्मचारीहरूलाई कार्यसम्पादनमा असर पर्ने खालका गतिविधि गर्दै आएको पाइएको छ । कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरूलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका कामहरू गर्न अनेक दबाब दिने, प्रलोभनमा पार्ने तथा आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियावाजी गर्ने प्रवृत्ति देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभाग र कार्यालयहरूबाट हुने सेवा प्रवाहबारे मन्त्रालयले निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन गरिरहेको जनाएको छ । मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखहरू समेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघन रूपमा छलफल गरी निराकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सेवा प्रवाह हुने निकायहरूबाट अनलाइन मार्फत नै आ–आफ्नो स्थानबाटै लिन सेवाग्राहीहरूलाई मन्त्रालयले अनुरोध समेत गरेको छ । अनलाइनमार्फत् प्राप्त हुने सेवाको लागि भौतिक रूपमा कार्यालयमा उपस्थित भई भिडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।