काठमाडौं । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो भिडियोले रामसेतुको खोजी र संरक्षणका लागि अक्षयलाई दिइएको तीनदिने मिसनको दृश्य पेस गर्छ ।
राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा अक्षय देखिएका छन् । नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेव पनि ट्रेलरमा चित्रित छन् ।
ट्रेलर अदालती बहसको दृश्यबाट सुरु हुन्छ, जहाँ सरकारले अदालतसामु रामसेतुलाई भत्काउने अनुमति मागेको छ । अभिनेता नासरले भारत रामको विश्वासमा अघि बढ्ने र कसैले चुनौती दिन नसक्ने वाक्य बोलेका छन् ।
उनले अक्षयलाई भूगर्भ अनुसन्धानका लागि रामसेतु खोज्न पठाउँछन् । ज्याकलिन र सत्यदेवलाई लिएर अक्षय मिसनमा निस्कन्छन् । उनलाई त्यसपछि थाहा लाग्छ, मर्नको लागि उनलाई त्यहाँ पठाइएको हो ।
रामायणमा उध्दृत भएजस्तो रामसेतुको कथाबाट फिल्म प्रभावित छ । तमिलनाडुको पाम्वन टापु र रामेश्वरम टापुलाई रामसेतुको एउटा श्रृंखला मानिन्छ । रामायणका अनुसार सीतालाई लंकाबाट उद्धार गर्न श्रीराम र उनका सैनिकले रामसेतु निर्माण गरेका थिए । अभिषेक शर्मा निर्देशित फिल्म रामसेतुलाई अमेजन प्राइम र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।
फिल्म कात्तिक ८ गते रिलिज हुँदैछ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।