सुध्रिएला हुलाकी राजमार्गको भविष्य ?

भउचप्रसाद यादव

काठमाडौँ, वैशाख २८ गते । तराईका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित स्तरोन्नति गर्न लागिएको हुलाकी राजमार्गको निर्माण अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन । भारतीय सहयोग रहेको यो आयोजना निर्माण सुरु भएको एक दशकमा एक हजार ४४४ मध्ये १२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।
अहिलेसम्म सुस्त रहेको यो आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि तीव्र प्रगति हुने अपेक्षा स्थानीय बासिन्दाको छ ।

मुलुकको राष्ट्रिय गौरवका आयोजनामा समेत सूचीकृत हुलाकी राजमार्गको निर्माण आर्थिक वर्ष २०६३÷६४ देखि सुरु गरिएको हो । यो बीचमा झापाको झापा चोकदेखि राजगढसम्म १२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । त्यसैगरी उक्त राजमार्गमा पर्ने १६० वटा पुलमध्ये अहिलेसम्म ५० वटा पुलको निर्माण भएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न हुने अपेक्षा गरिएको यो राजमार्गमा पर्ने विभिन्न सडकखण्डको भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको हुलाकी सडक निर्देशनालयका निर्देशक श्याम खरेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ पूरा हुन अब दुई महिना मात्र बाँकी छ ।
उहाँका अनुसार कल्याणपुर–बर्साइन–सुमनपुरी सडकखण्ड (सप्तरी), जनकपुर–यदुकाहा सडकखण्ड (धनुषा), जलेश्वर–मलङ्गवा सडकखण्ड (महोत्तरी), माईस्थान–गौशाला–चम्सी सडकखण्ड (महोत्तरी), मानमत–कलैया–मटिअर्वा सडकखण्ड (बारा)को भौतिक प्रगति चालीस प्रतिशत छ ।
उहाँले चालू आर्थिक वर्षदेखि सुरु गरिएको एक हजार किलोमिटर सडकको कालोपत्रे अबको तीन वर्षभित्र सम्पन्न हुने र बाँकी चार सय किलोमिटरमा काम सुरु गरिने जानकारी दिनुभयो । यसमध्ये सात सय किलोमिटर नेपाल सरकारले र तीन सय किलोमिटर भारतीय सरकारको आठ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण भइरहेका छन् । निर्माण हुन बाँकी ११० मध्ये ५० पुल निर्माणाधीन अवस्थामा छ भने बाँकीको ठेक्कापट्टा र डिजाइनको
काम भइरहेको छ ।
आवश्यक बजेटको अभाव, जग्गा अधिग्रहण, रूख कटान, कर्मचारी अभाव, निर्माण कम्पनीको क्षमताभन्दा बढी कामको जिम्मा जस्ता प्रवृत्तिका कारण प्रगति सुस्त भएको उहाँले बताउनुभयो ।
चालू आर्थिक वर्षमा हुलाकी राजमार्ग निर्माणका लागि चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने अगामी आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने राजमार्ग निर्देशनालयले जानकारी दिएको छ । यो योजनामा अहिलेसम्म १४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । rajmarg
हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडकखण्डको निर्माणका लागि यस वर्षको साउनमा भारतले नेपाललाई २३ करोड ७३ लाख रुपियाँ उपलब्ध गराएको थियो । अहिले भारतीय सहयोगमा कानेपोखरी–रङ्गेली सडकखण्ड
(मोरङ), कल्याणपुर–बर्साइन–सुमनपुरी सडकखण्ड (सप्तरी), वीरेन्द्रबजार–महिनाथपुर सडकखण्ड (धनुषा), जनकपुर–यदुकाहा सडकखण्ड (धनुषा), जलेश्वर–मलङ्गवा सडकखण्ड (महोत्तरी), माईस्थान–गौशाला–चम्सी सडकखण्ड (महोत्तरी), तामागढी–सिम्रौनगढ सडकखण्ड
(बारा), मानमत–कलैया–मटिआर्वा सडकखण्ड (बारा), वीरगन्ज–ठोरी सडकखण्ड (पर्सा) र लम्ही–कोइलाबास सडकखण्ड (दाङ)मा निर्माण भइरहेको छ । निर्देशक खरेलले १० वटा सडकखण्डमध्ये नौवटाको बोलपत्र (टेन्डर) आह्वान भई काम सुरु भइसकेको छ भने वीरगन्ज–ठोरी सडकखण्डका लागि बोलपत्र (टेन्डर) मूल्याङ्कनको क्रममा छ । अहिले यस राजमार्गमा नेपाली निर्माण कम्पनीले नै काम गरिरहेका छन् भने भारतीय अनुदानबाट निर्माण भइरहेको सडकखण्डमा भारतीय कम्पनीबाट ‘सुपरभिजन’ भइरहेको छ ।
हुलाकी राजमार्गमध्ये पहिलो चरणमा ६०७ किलोमिटर सडक निर्माणका लागि २७ जुन २००६ मा नेपाल र भारतबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।
त्यसैगरी दोस्रो चरणको सडक निर्माणका लागि १५ जनवरी २०१० मा नेपाल र भारतबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सडकको निर्माण र स्तरोन्नति गर्न लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने व्यवस्था छ ।
त्यसैगरी नेपाल सरकारले निर्माण सामग्रीमा कर छुट दिने व्यवस्था सम्झौतामा छ । सम्झौताअनुसार राजमार्गमा पर्ने सबै पुल नेपालले नै निर्माण गर्नुपर्नेछ ।
हुलाकी राजमार्गको कुल लम्बाइ झापाको भद्रपुरदेखि महाकालीको दोधारा चाँदनीसम्म करिब एक हजार छ सय किलोमिटर छ ।
तराईका २० वटा जिल्ला छुने यो राजमार्गले ती जिल्लाका ७५ प्रतिशत गाउँलाई सडकसँग जोड्छ । यो राजमार्गले देशको झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाले जानकारी दिएको छ ।
प्रस्तावित राजमार्गको कुल लम्बाइमध्ये ३० प्रतिशत राजमार्ग चालू अवस्थामा रहेकाले बाँकी ७० प्रतिशत मात्र नयाँ सडक निर्माण गर्नु पर्नेछ । चालू अवस्थामा रहेका ३० प्रतिशत सडकको स्तरोन्नति गर्ने योजना छ ।