खेलकुद

एन्फा निर्वाचन छिटो गर्न एएफसीको निर्देशन

काठमाडौं : पटकपटक रोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन मिति छिटो तोक्न एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई निर्देशन दिएको छ। एएफसीले पत्राचार गरी एन्फालाई छिटो निर्वाचनको मिति तोक्न निर्देशन दिएको हो।

यसअघि दुईपटक सरेको निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो। तर, चैतको निर्वाचनमा सहभागी बन्न पाउनुपर्ने भन्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले अदालतमा रिट दायर गरेपछि पाटन उच्च अदालतले निर्वाचन तत्काल नगर्न आदेश दिएको थियो। अदालतको आदेशपछि एन्फाले निर्वाचन कार्यक्रम रद्द गरेको थियो।

निर्वाचनका लागि आएका एएफसीका प्रतिनिधिसमेत तत्काल नेपाली फुटबलको अवस्थाबारे बुझेर फर्किएका थिए। हाल भक्तपुर र मकवानपुरको समेत निर्वाचन भइसकेको छ। जिल्ला निर्वाचन पूरा भइसकेको अवस्थामा एएफसीले पुनः चासो दिएर निर्वाचनको नयाँ मिति तोक्न निर्देशन गरेको हो।

अदालतमा परेको मुद्दाको विषयमा भने अझै टुंगो लागेको छैन। एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ पारिवारिक कारणले अस्ट्रेलिया गएकाले उनी फर्किएपछि एन्फाको निर्वाचन मितिका विषयमा छलफल हुने एन्फाले जनाएको छ। श्रेष्ठ शनिबार नेपाल फर्कने बताइएको छ।

विधानअनुसार एन्फाको निर्वाचन वैशाख ६ भित्र गरिसक्नुपर्ने प्रावधान छ। यस्तो अवस्थामा विश्व फुटबल महासंघ (फिफा)ले नेपाललाई कारबाही गर्नसक्ने सम्भावना छ। एन्फा कार्यसमितिको निर्वाचन यसअघि २०७० कात्तिकमा भएको थियो। चारवर्षे कार्यकाल गत कात्तिकमै सकिएको थियो। विधानतः निर्वाचनका लागि ६ महिना समय मात्र थप्न पाउने व्यवस्था छ।

Leave a Reply