मनोरन्जन

बलिउडका ब्रेकअप

बलिउडका कलाकार रियल लाइफका व्यक्तिगत सम्बन्धले जति चर्चामा छन्, त्यति नै रिल-जीवनका अफेयरले झन् चर्चित छन्।
सलमान खान र नायिका ऐश्वर्या रायबीचको प्रेमकहानी एकताका बलिउडमा निकै चर्चाको विषय बनेको थियो। चलचित्र ‘हम दिल दे चुके सनम’को छायांकन क्रममा यो जोडीबीच प्रेम बसेको थियो। रिसालु स्वभावका सलमान र ऐश्वर्याबीचको झैझगडाका किस्सा विभिन्न सञ्चारमाध्यममा बारम्बार हेडलाइन बन्ने गरेको थियो।
एक रात सलमान ऐश्वर्याको घरमा गएर उनको झ्यालको सिसा फुटाए र ऐश्वर्याले सुटिङ गरिरहेको ठाउँमै पुगेर उनलाई सेटमै पिटेका थिए। यी दुईबीचको सम्बन्धलाई टुंग्याउन उक्त घटना नै पर्याप्त भइसकेको थियो। यसको केही समयपछि ऐश्वर्या र नायक विवेक ओबरायबीचको प्रेम करिब तीन वर्षसम्म टिकेको थियो। तर, ऐश्वर्याले आफूबीचको सम्बन्धबारे सार्वजनिक रूपमा बताउन नचाहेको र अभिषेक बच्चनसँग पनि नजिकिन थालेपछि उनीहरूको नाता टुटेको थियो।

नायक जोन अब्राहम र नायिका बिपाशा वसुको रोमान्स पनि बलिउडमा लामो समय टिक्यो। तर, अन्तत जोनले आफ्ना प्रतिबद्धता पूरा नगरेको र आफूलाई धोका दिएको भन्दै बिपासाले उनीसँग सम्बन्ध तोडेकी थिइन्।

फराह खानको चलचित्र ‘ओम शान्ति ओम’बाट डेब्यु गरेकी नायिका दीपिका पादुकोणलाई एक जमानामा सिद्धार्थ माल्याको साथ निकै प्यारो लाग्थ्यो। उनीसँग समय बिताउन पाउनु दीपिकाको पहिलो प्राथमिकता थियो। आईपीएलको समयमा यो जोडी एकआपसमा निकै नजिक भएको पनि पाइयो। पछि माल्या अनिल कपुरकी छोरी सोनम कपुरका साथमा सम्बन्ध बढाउन व्यस्त भएको थाहा पाएर दीपिकाले आफ्ना प्रेमीलाई लात हानेकी थिइन्।

बलिउड ब्रेकअपमध्ये सबैभन्दा चर्चित रह्यो, अक्षय कुमार र शिल्पा सेठ्ठीको जोडी। बलिउड नायिका रविना टण्डनसँगको सम्बन्ध बिग्रिएपछि अक्षय शिल्पासँग प्रेममा परेका थिए। तर, अक्षयले टुइंकल खन्नासँग विवाह गरेपछि उनीहरूबीचको सम्बन्ध टुंगिएको थियो। सम्बन्ध टुटेको धेरै वर्षपछि पनि शिल्पाले बलिउडका यी ‘खिलाडी’ले आफूलाई प्रयोग मात्रै गरेको भन्दै आरोप लगाएकी थिइन्।

बलिउड प्रवेश गरेको छोटो समयमै चर्चित हुनेमा रणवीर कपुर पर्छन्। कपुर र नायिका दीपिकालाई धेरैले बलिउडको उत्तम जोडीको संज्ञा दिने गरेका थिए। तर, यो सम्बन्ध पनि अन्तत लामो समय टिक्न सकेन। दीपिकाले प्रत्यक्ष रूपमा रणवीरलाई आरोप लगाउन नसके पनि उनले विभिन्न अन्तर्वार्तामा आफ्ना पूर्वप्रेमीले आफूलाई धोका दिएको खुलासा गर्दै आएकी छन्।

चलचित्र ‘ब्यान्ड बाजा बारात’ रिलिज भएताका नायक रणवीर सिंह र नायिका अनुष्का शर्माबीचको रिलको जोडी जति राम्रो देखिन्थ्यो, त्यति नै उनीहरूबीचको रियलको जोडी थियो। तर, एक अवार्ड समारोहमा अनुष्काले रणवीरलाई वास्तै नगरी गएको प्रसंगले उनीहरूबीच सम्बन्ध चिसिएको अनुमान धेरैले लगाएका थिए। अन्ततः अनुष्काले चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग विवाह गरेर रणवीरसँग कुनै सम्बन्ध नरहेको पनि पुष्टि गरिसकेकी छन्।

बलिउडको आदर्श जोडीका रूपमा हेरिने गरिन्थ्यो, चकलेटी हिरो शाहिद कपुर र करिना कपुरलाई। तर, चलचित्र ‘जब उई मेट’को छायांकनका क्रममा उनी शाहिदलाई पाखा लगाउँदै सेफ अलि खानसँग नजिकिइन्। उता सेफ अलि खानले भने अमृता सिंहसँगको १३ वर्ष लामो दाम्पत्य जीवन टुक्र्याउँदै इटालियन मोडल रोजा क्याटालानोसँग सम्बन्ध बढाएका थिए। यो सम्बन्ध पनि तीन वर्षभन्दा लामो समय टिकेन। अन्ततः उनले नायिका करिना कपुरसँग विवाह गरे। हाल यो दम्पतीको एक छोरासमेत जन्मिसकेको छ।

चलचित्र ‘राज’ले नायिका कंगना रनावतलाई एकाएक चर्चामा ल्यायो। तर, चलचित्रमार्फत आफू नचलेपछि आध्यायन सुमनले आफ्नो ‘पुरुषवादी इगो’ देखाउँदै आफूलाई कंगनाबाट टाढा राख्दै गएका थिए।

त्यसैगरी राखी सावन्तले आफ्ना प्रेमी अभिषेक अवस्थीलाई एक दिन आफूलाई लुटेको भन्दै अपार्टमेन्टबाट बाहिर निकालिदिएकी थिइन्। नायिका महिमा चौधरीले आफ्ना प्रेमी एवं टेनिस खेलाडी लिन्डर पेजलाई रिहा पिलाईसँग लागेर आफूलाई धोका दिएको भन्दै छाडेकी थिइन्। पेजले पिलाईलाई विवाह गरेर उनीहरूको एक छोरीसमेत जन्मिसकेको छ।

मिस युनिभर्स लारा दत्त र केल्ली दोर्जेबीच पनि करिब आठ वर्षसम्म प्रेम चल्यो। तर, जब लारा चलचित्रमा सफल हुँदै गइन्; विभिन्न नायकसँग उनको नाम जोडिँदै गयो। यही हल्लाले यी दुईबीच दरार आयो र सम्बन्ध पनि टुक्रियो। त्यसैगरी अर्की विश्वसुन्दरी प्रियंका चोपडाले पनि चलचित्र ‘लभ स्टोरी २०५०’ ताका निकै नजिकिएका थिए। तर, चलचित्र बक्स अफिसमा त्यति नचलेपछि प्रियंकाले आफूलाई हर्मनबाट टाढै राख्न थालेकी थिइन्।

बलिउडमा ब्रेकअपको ट्रेन्ड अहिले मात्रै नभई पहिलेदेखि चलेको देखिन्छ। बलिउडको पर्दामा निकै रुचाइएका जोडी दिलीप कुमार र मधुबालाबीच पर्दाबाहिर पनि करिब पाँच वर्षसम्म प्रेमसम्बन्ध झाँगिएपछि टुटेको थियो। एकताका देव आनन्द र सुरैया पनि एकआपसमा भुतुक्कै हुन्थे। तर, सुरैयाकी मावली हजुरआमाले फरक धर्म भएको कारण देखाउँदै उनीहरूबीचको सम्बन्धलाई अस्वीकार गरेकी थिइन्। सुरैयाले आफ्नो हजुरआमाको विरोध गर्न सकिनन् र आनन्दसँग टाढिँदै गइन्।

(एजेन्सीको सहयोगमा)

Leave a Reply