मनोरन्जन

छल, क्रोध र पीडाको ‘परिबन्द’

अजवी पौड्याल
काठमाडौं : थिएटरको ढोकाबाट छिर्नेबित्तिकै हलको बत्ती झ्याप्प निभ्छ। लगत्तै मञ्चमा देखा पर्छ, एउटा रमाइलो दृश्य। एकआपसमा हात समाएर घुम्दै ‘सोईसोई सा सा हुर्र हा हा’को तालमा नाच्दै गरेका युवकयुवती देखा पर्छन्। मादल, ढोलक र झ्यालीको तालमा उनीहरू मस्त छन्। निकै रमाइलो माहोल छ मञ्चमा। कोसेली बाँडिरहेकी सोल्टिनीले रक्सीको सगुन पनि सबैलाई पस्किरहेकी छे।

यो दृश्य हो, सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘परिबन्द’को। पूर्वी नेपालको ग्रामीण भेगका मंगोल समुदायको घटना नाटकमा उतारिएको छ। मान्छे कुन बेला ‘परिबन्द’मा पर्छ र केकस्ता अप्ठ्यारा आइपर्छन् भन्ने विषय नाटकमा छ।

मुख्य नारी पात्र नुमाले भोग्नु परेको दुःख नै नाटकको मुख्य अंश हो। साधारण परिवारमा हुर्किएकी नुमाले विवाहपश्चात् धेरै समस्या भोगेकी छे। भूतपूर्व लाहुरे लालबहादुरले विदेशमा पैसा कमाइने लालसा देखाएपछि गाउँमा नै कृषि पेसाबाट जसोतसो घर चलाउँदै गरेको नुमाको श्रीमान् पारुहाङ श्रीमती र पेटको बच्चा छाडेर बिदेसिन्छ। विदेश गएको ऊ विभिन्न समस्यामा परेर १० वर्ष उतै हराउँछ।

१० वर्षसम्म लालबहादुरको कुदृष्टि र गाउँका मान्छेको हेपाइ सहँदै नुमाले एक्लै छोरो हुर्काउँछे। विदेशमा नै विवाह गरेर उतै भुलेको पारुहाङलाई दस वर्षपछि गाउँका मानिसले खोजेर ल्याउँछन्। अन्त्यमा आफ्नै श्रीमान्ले आवेगमा आएर धकेल्दा लडेर उसको मृत्यु हुन्छ। र, यो कारुणिक दृश्यसँगै नाटक सकिन्छ।

बेरोजगार युवाको विदेश आकर्षणले देशमा विकराल अवस्था सिर्जना गरेको छ। कृषिप्रधान देशमा कृषि पेसा गरेर जीवन चलाउन धौधौ छ। विदेश गए टन्नै पैसा सोहोर्न पाइन्छ भन्ने मानसिकताले हरेक युवालाई ग्रसित पारेको छ, जसले गर्दा विदेशीपछि पाइने दुःखको बेवास्ता गरेर पारुहाङजस्ता लाखौं युवा विदेश भासिएका छन् र दुःख पाएका छन्।

महिलालाई एक्लै देखपछि जालमा पार्ने दाउ हेर्ने पुरुष प्रवृत्ति नाटकमा देखाइएको छ। नुमालाई एक्लै हुँदा सहारा दिएजस्तो गरेर उसलाई प्राप्त गर्ने चाहना लालबहादुरले राखेको छ। समाजका मानिसहरूले पनि नुमाको चरित्रमाथि आक्षेप लगाएका छन्। समाजले एकल महिलालाई कसरी उसको चरित्रमा प्रहार गरेर जीवन चलाउन मुस्किल पार्छन् भन्ने दृष्टान्त नाटकमा छ। ‘एक्ली महिलाले जीवन चलाउन सक्दैनन् भन्ने मानसिकता सबैमा किन छ ? ’ लालबहादुरसँग नुमाको प्रश्न छ।

ग्रामीण परिवेशको समाजमा रहेका धनाढ्य व्यक्तिले चर्को ब्याज र भाकासहित गरिबलाई सहयोग गरेझैं गरी ऋण दिन्छन्। तोकिएको समयमा ऋण तिर्न नसके जग्गाजमिन हडपेर आफ्नो बनाउने साहू प्रवृत्ति नाटकमा देखाइएको छ।

विषयवस्तुमा भएको गाम्भीर्यका साथै लिम्बू समुदायमा प्रचलित संस्कार, भेषभूषा र लवज प्रयोगले नाटक यथार्थपरक बनाएको छ। शुभ कार्यमा रक्सीलाई सगुनको रूपमा प्रयोग गर्ने, विवाहमा केटीको परिवार तर्फबाट गहना र पैसाको माग गर्ने तथा जात्रामा गएर गीत गाउँदै ढोलक बजाएर रमाइलो गर्नेजस्ता कार्यले लिम्बू सम्प्रदायको संस्कृति झल्काएको छ।

नाटकको लेखन, निर्देशन र प्रस्तुति सर्वनामका बाह्रौं ब्याचका प्रशिक्षार्थीले गरेका छन्। नुमाको भूमिकामा वर्षा मल्ल छिन्। उनले ग्रामीण परिवेशमा विवाहपश्चात् एकल नारीले भोग्नु परेको समस्या र परिबन्दले पारेको आपत्तिमाथि जीवन्त अभिनय गरेकी छन्। पारुहाङको भूमिकामा पाश्लाक्पा शेर्पा रहेका छन्। शोभा लिम्बू बहुल पात्रको भूमिकामा देखिएकी छन्। उनी थुङ्मा, सुस्मिता, सुजाता र सोल्टिनीको भूमिकामा सबल तरिकाले प्रस्तुत भएकी छन्। समीर पौडेल लालबहादुर (लाहुरे)को भूमिकामा देखिएका छन्। विदेश गएर आएको रवाफ र छलकपटले भरिपूर्ण पात्रको भूमिकामा उनको अभिनय देख्न सकिन्छ।

नाटकमा दृश्य र संवादको तालमेल राम्रो छ। वैशाख १ देखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको यो नाटक वैशाख १५ सम्म चल्नेछ।

Leave a Reply