खेलकुद

पाल्पाली सेवा समाज कतारबाट बिपन्न बिद्यार्थीलाई सहयोग

मेरो समाचारदाता
पाल्पा, २९ बैशाख
पाल्पाली सेवा समाज दोहा कतारले तानसेन नगरपालिका ६ कुनसरेमा रहेको कुनसरे आधारभुत बिद्यालयमा अध्ययनरत १८ जना बिपन्न समुदायका बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पुस्तक र झोला प्रदान गरेको छ ।

बिहीवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग उपलब्ध गराएको हो । बिद्यालयले कक्षा १ देखि ५ सम्म अहिले अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको छ तर सरकारले नेपाली माध्यमका पुस्तक मात्रै उपलब्ध गराउदै आएको छ । अगें्रजी माध्यमको पुस्तकका लागि अभिभावकहरुले अतिरिक्त पैसा तिर्नुपर्ने भएकोले बिपन्न समुदायलाई अप्ठेरो भएको थियो ।

विद्यालयसितको समन्वयमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पाली सेवा समाज दोहा कतारमा सम्पर्क गरि सहयोगका लागि अनुरोध गरेका थिए । १८ जना बिद्यार्थीको पुस्तक खरिदका लागि नगद २५ हजार, १८ जना बिद्यार्थीलाई झोला र ४ जना बिद्यार्थीहरुलाई पोशाक समेत उपलब्ध गराइएको छ ।
सहयोग हस्तान्तरण गर्दै पाल्पाली सेवा समाज कतारका अध्यक्ष इश्वर काफ्लेले यस प्रकारको सहयोगलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयो । सचिव रामलाल खाती, कोषाध्यक्ष मिन बहादुर सारुले यसप्रकारको अभियानलाई अन्य बिद्यालयहरुमा पनि संचालन गरिने बताउनुभयो । सो अवसरमा कोषाध्यक्ष मिन बहादुर सारुले ब्यक्तिगत रुपमा बिद्यालयका लागि १ थान कम्प्युटर प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद बस्यालले बिद्यालय, बिद्यार्थीहरुको अवस्थाबारे जानकारी गराउँदै सहयोग गर्ने संस्था प्रति धन्यवाद ज्ञापन गर्दै यस्ता खालका सहयोगले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यालयहरुलाई बिद्यालयसम्म ल्याउन र उनीहरुलाई बिद्यालयमा टिकाउन सहयोग पर्याउने बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, मानवअधिकार निगरानी समूहका सदस्य नेत्र गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज पौडेल, बिद्यालय ब्यवस्थापन समितिकी पूर्व अध्यक्ष चन्द्रकला न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर थापाको अध्यक्षता र सहायक प्रधानाध्यापक इन्द्र बहादुर सारुको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply