मनोरन्जन

रंगमञ्‍चका लागि कस्तो रह्‍यो २०७४ ?

अजवी पौड्याल
२०७४ सालमा नेपाली रंगमञ्चमा करिब आधा सय नाटक मञ्चन भए। धेरैजसो थिएटर काठमाडौं केन्द्रित भएकाले नाटक पनि यहीँ धेरै मञ्चन भए। अस्तित्वमा रहेको थियटर मल काठमाडौं २०७४ मै बन्द भयो भने अर्को नयाँ नाटकघर ‘कुञ्ज’ थापागाउँमा खुल्यो। पोखरामा पनि पहिलो नाटकघर सुरु भयो।

यो वर्ष केही नयाँ युवा निर्देशक यो क्षेत्रमा आएका छन् भने पुराना र चलेका कलाकारले यो क्षेत्र त्यागेका छन्। राज शाह, रेनुका कार्की, आकांक्षा कार्की, परिवर्तन शर्माजस्ता १४ जना युवा निर्देशक तालिम लिएर आए।

लोकजीवन र सांस्कृतिक कथा बोकेका नाटक पनि मञ्चन भए।

नाटकका कथामा विविधता देखियो। विविध विषयका नाटक मञ्चन भए पनि नेपाली लेखकले लेखेका नाटक खासै देखिएनन्। पौराणिक कथामा लेखिएका र मिथक प्रयोग भएका कथाले नै यो वर्ष पनि निरन्तरता पाए। ययाती, एन्टिगोनी, माधवी, बाह्र दुर्वाशाजस्ता पौराणिक नाटक निर्देशकको रोजाइमा परे। मञ्चमा पनि यिनीहरूकै वर्चस्व रह्यो।

कलाकार तथा नाटक निर्देशक राजन खतिवडाको अनुभवमा यो वर्ष अत्यन्त उर्बर रह्यो। कथावस्तु, प्रस्तुति तथा अभिनयका हिसाबले पनि केही राम्रा नाटक उत्पादन भए। घोडचढी, म्याड म्यान्स् डायरी, माधवी, ययाती, थाङला, कोमा, लायन, एन्टिगोनी, बाह्र दुर्वाशा, जयमाया, असम्बन्ध, ज्युँदो आकाशलगायतका नाटक तुलनात्मक रूपमा सफल भए।

नाटकहरू जेनतन नाटकघरको खर्च उठाउन सक्नेसम्म भएका छन्। दर्शक प्रायः पुरानै छन्। अहिले नाटक चाहना नभएर पेसा भएको खतिवडाको अनुभव छ। केही वर्षदेखि लगातार नाटक निर्देशन गरेको तर आफू कलाकार भएर खेल्न नपाएको उनले बताए।

रंगकर्मी घिमिरे युवराज पनि नाटकका लागि वर्ष २०७४ सफल नै ठान्छन्। गाउँघरका कथा, परिवेश र घटना भएका नाटक दर्शकको रोजाइमा परेको उनले बताए। केही नाटक साहित्यका पुस्तकबाट पनि साभार गरियो भने केही फिल्मका कथाबाट पनि उतारियो। बाह्र दुर्वाशा नाटकको विषयवस्तु फिल्मबाट लिइएको खतिवडाले बताए।

खतिवडाको अनुभवमा नाटकले वैचारिक बहस गराउँछ। जे छ त्यही देखाउने काम नाटकको होइन। नेपालका लेखकले नाटक लेखनतिर उतिसारो चासो र रुचि नदेखाएको उनको अनुभव छ। यसले गर्दा पनि विदेशी नाटक मञ्चन गर्नु परेको हो।

मञ्चन भएका नाटक मध्यमस्तरका रहे। केही नेपाली नाटक विदेशमा समेत मञ्चन गरिए। घोडचढी सुन्दर नाटक हो।

नेपालबाट थाङ्ला, एन्टिगोनी, आनफ टाइम, ज्युँदो आकाशजस्ता केही नाटकले ओलम्पिकमा समेत प्रतिनिधित्व गरे। यो नेपाली रंगमञ्चका लागि ठूलो उपलब्धि हो। यसले नेपाली कलाकारप्रति विश्वको ध्यान खिच्न सफल भयो।

नेपाली रंगमञ्चलाई विदेशी रंगमञ्चसँग जोड्न अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव गरिएको रंगकर्मी राज शाहले बताए। यो नाटक महोत्सवमा विदेशी कलाकारले पनि नाटक देखाए। यो वर्ष नेपाली रंगमञ्चले कलाकारद्वय विष्णुभक्त फुँयाल र विक्रम परियारलाई गुमायो।

Leave a Reply